Skip to toolbar

११ महीनामै राजस्व असुलीको वार्षिक लक्ष्य पूरा गर्यो सत्ती भन्सार कार्यालयले

सुदुरन्यूज डेस्क २८ असार २०७८

कैलाली । कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालयले चालू आर्थिक वर्षको ११ महीनामै राजस्व असुलीको वार्षिक लक्ष्य पार गरेको छ । कार्यालयले जेठ मसान्तसम्ममा १४ करोड ५० लाख राजस्व संकलन गरेको छ ।
सत्ती भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरूमा ६ करोड ७ लाख र पछि बढाएर १४ करोड २३ लाख राजस्व संकलनको लक्ष्य तोकेको थियो, जुन ११ महीनामै पूरा भएको भन्सार कार्यालय खक्रौलाका प्रमुख विमलकुमार शाहले बताए ।
‘सबै सामान भन्सारमार्फत आउँदा राजस्व संकलनमा वृद्धि भएको हो,’ शाहले भने, ‘असार महीनाको असुली जोड्दा राजस्व अजै बढी हुनेछ ।’ २ वर्षअघि मात्र स्थापना भएको सत्ती भन्सारले गत आर्थिक वर्षमा ५ करोड ८० लाख ७ हजार मात्रै राजस्व उठाएको थियो । कोरोना संक्रमणपछि मानिस खुलारूपमा सीमापारि आउजाउ गर्न नसक्दा र पछिल्लो समय खक्रौला नाका भएर कच्चापदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजस्व असुली बढेको भन्सार कार्यालय प्रमुख शाहले बताए ।
सत्ती भन्सारबाट कपडा, मोटर पार्ट्स र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन् । नेपाल सरकारले पशु, वनस्पति र खाद्य क्वारेन्टाइन स्थापना गरी पशु, वनस्पति र खाद्य सामग्रीको आयात निर्यातको व्यवस्था गरे अझै राजस्व बढ्ने शाहको भनाइ छ ।
कैलाली भन्सार कार्यालयले पनि जेठ मसान्तसम्ममा लक्ष्यको ९९ प्रतिशत राजस्व उठाइसकेको छ । भन्सार विभागले कैलाली भन्सार कार्यालयलाई चालू आर्थिक वर्षमा ८ अर्ब २१ करोड ७३ लाख ७१ हजार राजस्व असुलीको लक्ष्य तोकेको थियो । जेठ मसान्तसम्ममा ८ अर्ब १४ करोड ८१ लाख संकलन भइसकेको भन्सार कार्यालयका भन्सार अधिकृत अम्बिका केसीले बताइन् । ‘यस वर्ष हामी लक्ष्य पूरा गर्ने अवस्थामा पुगेका छौं,’ उनले भनिन्, ‘कैलाली भन्सार कार्यालयबाट यो अवधिमा पेट्रोलियम पदार्थ, चामल, गहुँ, पापड, भुजिया, दालमोठ बिस्कुट, आलुजस्ता वस्तुको आयात धेरै भएको छ ।’ सरकारले सीमा नाकामा रहेका राजस्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजस्व संकलन बढ्ने सरोकारवालाहरू बताउँछन् । साभार आर्थिक अभियान

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: